मोदीको नाममा २२ दलको झमेला
जनकपुरमा समानान्तर कार्यक्रम गर्ने धम्की
जनकपुर, मंसिर ४ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन र सम्बोधन जानकी मन्दिर परिसरमा गर्न लागिएकामा असन्तुष्टि जनाउँदै २२ दलले बुधबार धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
संघीय लोकतान्त्रिक मोर्चासम्बद्ध दलका नेता/कार्यकर्ताले नागरिकको चाहनाविपरीत सीमित व्यक्तिबीच कार्यक्रम गर्न लागिएकामा असन्तुष्टि जनाएका हुन्। बाह्रबिघा रंगभूमि मैदान र जनपथमा उभिएर मोदीको स्वागत/अभिनन्दन गरिने उनीहरूले बताए। सरकारी कार्यक्रममा सहभागी नभई समानान्तर कार्यक्रम आयोजना गर्ने उनीहरूले बताए। प्रजिअ कृष्णप्रसाद ढुंगानामार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा पूर्वमन्त्री रामचन्द्र झा, सभासदहरू डा. विजयकुमार सिंह, रामसिंह यादव र माधवी रानी साह, पूर्वमन्त्रीहरू अरविन्द साह, हरिनारायण यादव, सुरिता साह र चन्दा चौधरी तथा मोर्चाका जिल्ला अध्यक्षहरूको हस्ताक्षर छ।
भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दन तथा सम्बोधन बाह्रबिघा रंगभूमि मैदानमा हुनुपर्ने तथा मधेसका दलित छात्राहरूलाई साइकल वितरण गर्न दिइनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ। चार सय जना अट्ने जानकी मन्दिरमा सार्वजनिक समारोह गर्नु अव्यावहारिक हुने उनीहरूको दाबी छ।
'सरकारी कार्यक्रम जानकी मन्दिरमा हुन्छ, आमनागरिक बाह्रबिघा मैदानमा भेला भएर स्वागत/अभिनन्दन गर्नेछन्,' एमाओवादी पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झाले भने।
२२ दलीय मोर्चाको पहलमा भारतीय प्रधानमन्त्रीलाई अभिनन्दन गर्न बाह्रबिघा मैदानमा मञ्च निर्माण गरिने सभासद रामसिंह यादवले जानकारी दिए। जनकपुर युथ डेभलपमेन्ट फोर्सले समेत प्रजिअ ढुंगानालाई ज्ञापनपत्र बुझाउँदै भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दन र सम्बोधन हेर्न तथा सुन्नबाट सर्वसाधारणलाई वञ्चित गर्न नहुने बताएको छ।




